समाचारको विषयमा पत्रकारविरुद्ध जथाभाबी लेख्ने भुषाल थुनामा

कपिलवस्तु l सामाजिक सञ्जाल फेसबुकमा पत्रकार उपर जथाभाबी लेख्ने जग्गा दलाल खडानन्द भुषाललाई कपिलवस्तु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

अर्घाखांची जिल्ला सन्धिखर्क नगरपालिका-२ बस्ने जग्गा दलाल खडानन्द भुषाललाई सोमबार जिल्ला अदालतका न्यायाधीश रमानन्द अधिकारीले भुषालउपर साइबर क्राइम मुद्दामा थुनामा राखी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो। जग्गा दलाल भुषाललाई कपिलवस्तु कारागारमा पठाइएको छ।

भुषालले पत्रकार गणेश पोखरेलविरुद्ध आफ्नो फेसबुक पेजमा अपमानजनक अभिव्यक्ति लेखेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी हिरासतमा राखेको थियो। केही दिनअघि जग्गा किनबेचको नाममा वाणगंगाकी राधिका भण्डारीलाई ठगी गरेको विषयलाई लिएर स्थानीय अनलाइनमा पोख्रेलले समाचार लेखेका थिए। सोही समाचार लेखेका पत्रकार पोख्रेलविरुद्ध जग्गा दलाल भुषालले आफ्नो फेसबुक पत्रकार पोखरेलले एक लाख रुपैयाँ माग गरेको भन्दै पत्रकार पोखरेल र उनकी दिदीको फोटो राखेर चरित्र हत्या गरेका थिए।

भुषालले रातको समयमा उनका निकट व्यक्तिहरुले पटक-पटक फोन गरी समाचार डिलिट गर्नका लागि धम्कीसमेत दिएका थिए। आफूविरुद्ध समाजिक सञ्जालमा चरित्र हत्या गर्नेदेखि धम्कीहरू आउन थालेपछि प्रहरीमा उजुरी गरेको पोख्रेलले बताए।

Back to top button