प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले गत साउन १ गतेदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । सो सेवाबाट लाभ लिने विपन्न र गरिबहरू दिनदिनै बढ्दै गएका छन् ।

विशेषगरी विपन्न र गरिबहरूका लागि सुरु गरिएको निःशुल्क एम्बुलेन्स सेवाबाट आवश्यक परेको बेला सबैले लाभ पाइरहेको उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले एक महिनाको अवधिमा ५० जनाभन्दा बढी विपन्न र गरिबले अति आवश्यक परेको बेला निःशुल्क एम्बुलेन्स सेवा लिएको बताउनुभयो ।

उहाँले एम्बुलेन्स सेवा सुरु गरिएपछि विपन्न र गरिबलाई आपत्कालीन अवस्थामा अस्पताल पुग्न निकै सहज भएकोले यहाँ यो सेवा निकै प्रभावकारी बन्दै गएको बताउनुभयो । उपप्रमुख राईले थप्नुभयो, “नगरभित्र मात्रै होइन कोही असाध्यै गरिब र असहायले अनुरोध गर्दा नगर बाहिरसम्म पनि सेवा दिने गरेका छौँ ।” सो निःशुल्क एम्बुलेन्स सेवा २४ सै घण्टा सञ्चालनमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले गत साउन १ गतेबाट बाँकेमै पहिलो पटक २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाका अनुसार गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पुर्‍याउन सुरु गरिएको सो सेवाबाट धेरै जना लाभान्वित भइरहेका छन् ।

यो सेवाले गर्दा विपन्न र गरिब बिरामीहरूको अस्पतालसम्म समयमै सहज पहुँच पुगेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद रिजालले भन्नुभयो, “पैसा नभएका बिरामीलाई अस्पतालसम्म पुग्न कुनै कठिनाइ नपरोस् भन्ने उद्देश्यले यो सेवा चौबिसै घण्टा उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो, यसबाट गरिब र विपन्नले फाइदा पाउन थालेको हुँदा निकै खुसी लागेको छ ।”

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि निकै सहज भएको स्थानीय सेवाग्राहीको प्रतिक्रिया छ । उनीहरूले आवश्यक परेको बेला तत्काल एम्बुलेन्स आउने र निःशुल्क सेवा पनि पाउने गरेको जनाएका छन् । नेपालगन्ज १ धम्बोझीका सुरेश गुप्ताले पैसा नभएको र आपत् परेको बेला उपमहानगरको निःशुल्क एम्बुलेन्सको सहयोग पाउँदा बिरामीको ज्यान जोगिएको बताउनुभयो । उहाँले यस्तो सेवालाई जिल्लाका सबै पालिकाले सुरु गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

सोही प्रकारको प्रतिक्रिया दिँदै नेपालगन्ज ४ सल्यानी बागका इरफान शेषले पहिलो पटक निःशुल्क र समयमा एम्बुलेन्स सेवा पाउँदा आफ्नो गर्भवती पत्नीले समयमै उपचार पाएको बताउनुभयो ।

Back to top button