बालबालिकाहरुको अनुभव साटासाट गर्न बाल भेलाको आयोजना

गेरुवा । बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बाल भेला गेरुवामा सम्पन्न भएको छ । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजार स्थित होटेल नेपसेन्ट्रिकमा भेला सम्पन्न भएको हो ।

प्लान इन्टरनेशनल नेपाल र बि–ग्रुपको साझेदारी र गेरुवा गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा स्वागत मनतव्य राख्दै बि–ग्रुपका परियोजना प्रवन्धक बिर्ख राज उपाध्यायले बाल अधिकारका सबै सरोकारवालाहरुको ध्यान आकृष्ट गर्न, बालबालिकाको सहभागिताबाट उनीहरुको आत्म विकासको लागि योगदान पु¥याउन, विकासका कार्यमा प्रभावकारीता तथा दिगोपनालाई बढाउन बाल भेलाको आयोजना गरिएको बताउनुभयो ।उहाँले बालबालिकालाई समुदाय स्तरमा मुल्यवान योगदान गर्ने अवसर प्रदान गर्न, जीवनउपयोगी सीप अभिवृद्धि गर्न र आत्मसंरक्षणका लागि सक्षम बनाउन, लोकतान्त्रीक मूल्य मान्यताको बारेमा अभ्यासबाट यसको प्रवद्र्धनमा सहयोग गर्नु लगायतका कार्य कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

‘हरेक बर्ष गेरुवा गाउँपालिकामा अझै एक सय जनामा ३० जना भन्दा बढीले बालविवाह गर्ने गरेको तथ्याङ्क रहेको छ ।’ परियोजना प्रवन्धक उपाध्यायले भन्नुभयो, ‘बाल भेलाबाट बालबालिकाहरुको अनुभव साटासाट गर्न, विद्यालय स्तरदेखि समुदायस्तरसम्म बालबालिकाहरुले देखेका, भोगेका विभिन्न अनुभव खुलस्त राख्न कार्यक्रमको आयोजना गरिएको हो ।’कार्यक्रममा प्रमुख अतिथि रहनुभएका गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एवं गेरुवा गाउँपालिकाका प्रवत्ता धर्म प्रकाश थारुले बाल विवाह न्युनिकरणको लागि विभिन्न कार्यक्रमहरु संचालन भएपनि अझै सफलता पाउन नसकेको बताउनुभयो । बाल विवाह न्युनिकरण गर्ने सरकारको लक्ष्यलाई पुरा गर्न गेरुवा गाउँपालिकाले पनि दृढताका साथ अघि बढेको बताउँदै यसमा सबै पक्षको सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

‘कक्षा बीचमै छोड्ने अनि कमाउन नेपाल, भारत लगायतका विभिन्न ठाउँमा जाने, २/३ महिना कमाएर घर फर्कने, आउँदा ठुलो मोबाईल बोकेर फर्कने यस्ता क्रियाकलापले ठुलो समस्या बनाएको छ ।’ अध्यक्ष थारुले भन्नुभयो, ‘यसको सिको गर्दै पढ्दै गरेका बालबालिकाहरुले कक्षा छोड्ने र सामाजिक सञ्जालको गलत प्रयोगले बालविवाह न्युनिकरण गर्न चुनौती थपिएको छ ।’कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरी, गेरुवा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख नवराज अधिकारी, महिला शाखा प्रमुख रमा पुन मगर लगायतले सरकारले २०३० सम्म बाल विवाहलाई अन्य गर्ने लक्ष्य लिएको बताउँदै यसलाई पुरा गर्न स्थानीय सरकारले समेत ५ बर्षे रणनीतिक योजना बनाएर अघि बढेको बताएका छन ।

बाल विवाहलाई अन्त्य गर्दै समाजलाई सुदृढ, सक्षम, सबल र आत्मनिर्भर समाज बनाउनु पर्दछ भन्ने उद्देश्यका साथ अघि बढीरहेको उल्लेख गरेका छन । बाल भेलामा गेरुवामा ५ वटा माध्यमिक विद्यालयका १६ बर्षदेखि १८ सम्मका ४० जना बालवालिकाहरुको सहभागिता रहेको थियो ।जानकी मावि जनकनगर, एक प्रिय राठौर मावि पाताभार, जनता माध्यमिक विद्यालय गोला, पशुपति मावि पशुपतिनगर र नेपाल राष्ट्रिय गणेश मावि प्रशेनीका छात्र छात्राहरुको भेलामा सहभागिता रहको थियो । उद्घाटन शत्रको कार्यक्रम संचालन बि–ग्रुपका सुपरभाइजर ज्ञान बहादुर चौधरीले गर्नुभएको थियो भने बाल भेलाको सहजिकरण प्रशिक्षक प्रकाश उपाध्यायले गर्नुभएको थियो ।

Back to top button