बि–ग्रुपद्वारा २०२३ सम्म गेरुवाको कम्तीमा एक वडालाई बाल विवाह मुक्त वडा घोषणा गर्ने तयारी

शान्तिबजार । बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत कार्ययोजना निर्माण कार्यशाला गोष्ठी शुक्रबार गेरुवा ३ शान्तिबजार स्थित होटेल नेपसेन्ट्रिकमा सम्पन्न भएको छ । बाल अधिकार समिति तथा सरोकारवालाहरुलाई बाल विवाह न्यूनिकरणका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीको उद्घाटन गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बाल विवाह न्यूनिकरण गर्ने सरकारको लक्ष्यलाई पुरा गर्न पालिकाले कदम चालिरहेको बताउनुभयो । उहाँले बाल विवाहका कारण बालबालिकाहरुले शिक्षालाई निरन्तरता दिन नसकेकोले यसले समाजमा ठुलो समस्या पार्न सक्ने उल्लेख गर्नुभयो ।‘बाल विवाह दण्डनीय अपराध हो भन्ने कुरा थाहा नभएकै कारण, किशोर किशोरी अवस्थामा अपरिपक्कता र ज्ञानको अभावका कारण, गरिबी अशिक्षा र अपरिपक्कताका लगायत बालविवाह हुनुको मुख्य कारण हो, ‘अध्यक्ष केसीले भन्नुभयो, ‘बाल विवाहले कानुनी मान्यता पाउदैन र कानुन बमोजिम रद्द सम्म हुने, विवाह दर्ता गराउन नमिल्ने हुदा श्रीमान र श्रीमती बीच वैधानिक नाताको मान्यता नमिल्ने, सानै उमेरमा गर्भ बस्न गई आमा र बच्चा दुबैको जीवन जोखिममा पर्न सक्ने लगायतका समस्याहरु बाल विवाह गर्दा आउछन ।’कार्यक्रमाम बोल्दै गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बाल विवाह न्यूनिकरण गर्न पालिका निरन्तर लागिरहेको बताउनुभयो । बाल विवाह न्यूनिकरण गर्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै उपाध्यक्ष चौधरीले एक दुई दिने गोष्ठीले मात्र नभई घरबाटै यसको सुरुवात गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै बि–ग्रुपका सुपरभाइजर ज्ञान बहादुर चौधरीले वडा स्तरीय, पालिका स्तरीय प्रत्येक टोलटोलमा बाल विवाह हुँदा यसले पार्ने असरहरुको बारेमा जानकारी पुगोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले गेरुवा गाउँपालिकालाई बाल विवाह मुक्त पालिका घोषणा गर्ने अभियानलाई पुरा गर्न छलफल मात्रै नभएर कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखेर कार्यशाला गोष्ठीको आयोजना गरिएको उल्लेख गर्नुभयो । कार्यशाला गोष्ठीको सहजिकरण गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले गर्नुभएको थियो । कार्यक्रममा बाल अधिकार समिति, नागरिक समाज सञ्याल, महिला सञ्याल, वडघर, जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो । प्लान नेपाल, बि–ग्रुपको साझेदार र गेरुवा गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । २०२३ सम्म गेरुवा गाउँपालिकाको कम्तिमा एक वटा वडालाई बाल विवाह मुक्त वडा घोषणा गर्ने आयोजकले लक्ष्य लिएको छ ।

Back to top button