कमैया महिला जागरण समाजद्वारा गेरुवामा १०३ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण

गेरुवा । नेपालमा कृषिमा आधारित बंन्धुवा श्रमको अन्त्य परियोजना अन्तरगत गेरुवामा बुधबार शैक्षिक सामाग्री वितरण गरिएको छ । गेरुवा गाउँपालिका वडा नं. २, ३, ५ र ६ वडाका ५ विद्यालयका मुक्त कमैयाका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । गेरुवा गाउँपालिका, एक्सन एड नेपालको सहयोगमा कमैया महिला जागरण समाज गुलरियाले गेरुवामा १०३ जना छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।शैक्षिक सामाग्रीमा झोला, ज्यामिति बक्स, डटपेन, कपी, विद्यालय पोशाक रहेको छ । गेरुवा गाउँपालिका वडा नं. २ मा एक प्रिय राठौंर मावि पाताभारका २० जना छात्रछात्रा, वडा न. ३ को सरस्वती आधारभूत विद्यालय बनकट्टीका ८ जना छात्रछात्रा, गेरुवा ५ मा सरस्वती आधारभूत विद्यलाय विन्द्राका १२ जना छात्रछात्रा, पशुपति माध्यमिक विद्यालय पथरैयाका १३ जना छात्रछात्रा र गेरुवा ६ मा नेपाल राष्ट्रिय गणेश मावि प्रशेनीपुरमा ५० जना छात्रछात्रा गरी १०३ जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि एवं गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले गेरुवामा यसै आर्थिक बर्ष देखि कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा गरिएको जानकारी गराउँदै यस्ता कार्यक्रमले पालिकाको अभियानमा हातेमालो गर्ने उल्लेख गर्नुभयो । ‘अन्य वडाहरुका विद्यालयहरुमा समेत अतिविपन्न परिवारका बालबालिका रहेका छन । लक्षित वर्गका सबै बालबालिकाहरुलाई समेट्न नसकेपनि सबै वडालाई समेट्न आवश्यक छ ।’ अध्यक्ष केसीले भन्नुभयो–‘विद्यालयको पहुँचमा आउन नसकेका बालबालिकाहरुलाई विशेष प्राथमिकता दिनुपर्छ ।’वडा अध्यक्षहरुबाट आफ्नो भनाई राख्दै गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले शैक्षिक सामाग्री वितरण कार्यक्रम आफैमा चुनौति भएपनि लक्षित वर्गका बालबालिकाहरुसम्म यो कार्यक्रम पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । एउटा संस्थाले मात्रै लगानी गरेर नहुने बताउँदै अध्यक्ष चौधरीले अभिभावकहरुले आफ्ना बालबालिकाहरु विशेष निगरानी गर्नुपर्ने बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकाहरुलाई शिक्षासँगै समय दिनसक्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिदै अध्यक्ष चौधरीले आफ्नो बालबालिकाको संगत कस्ता व्यक्ति सँग छ त्यसमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा सहभागि गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारीले शैक्षिक सामाग्री वितरणले निरन्तरता पाओस भन्ने शुभकामना दिदै यस्ता कार्यक्रमले आर्थिक अभावका कारण विद्यालय छोड्नुपर्ने बालबालिकाहरुलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडा, विद्यालय र सम्बन्धित संस्थासँग समन्वय गरेर छात्रवृत्तिका लागि बालबालिका छनोट गरिएकोले लक्षित वर्ग सकभर नछुटेको बताउनुभो ।छात्रवृत्ति प्राप्त गरेका विद्यालयको तर्फबाट बोल्दै नेपाल राष्ट्रिय गणेश मावि प्रसेनीपुरका प्रधानाध्यापक झक्क प्रसाद ढुंगानाले सबै विद्यालयलाई समेट्न संस्थाले ध्यान दिनुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षण सिकाई क्रियाकलापमा उल्लेखनिय भूमिका खेल्ने बताउनुभयो ।कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश थारु, वडा नं. ६ का वडा अध्यक्ष कृष्ण गोपाल चौधरी, एक प्रिय राठौंर माविका सह–प्रधानाध्यापक टंक राज शर्मा, पशुपति मावि पशुपतिनगरका प्रधानाध्यापक ज्ञानेन्द्र चौधरी, कमैया महिला जागरण समाजका अधिकृत रमेश कुमार चौधरी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।मुक्त कमैया समाजका अध्यक्ष बेचुलाल थारुको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन संस्थाका परियोजना अधिकृत राजेन्द्र चौधरीले गर्नुभएको थियो । कार्यक्रमको उद्देश्य माथि प्रकाश संस्थाका सामाजिक परिचालक सम्झना चौधरीले गर्नुभएको थियो । कमैया महिला जागरण समाजले राजापुर नगरपालिकामा समेत ३०१ जना मुक्त कमैयाका बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेको छ ।

Back to top button