गेरुवा ग्रामिण जागरण संघको पालिका स्तरीय समिक्षा बैठक गेरुवामा सम्पन्न

शान्तिबजार । किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना अन्तरगत पालिका स्तरीय विद्यालयहरुको समिक्षा बैठक सोमबार गेरुवामा सम्पन्न भएको छ । गेरुवा गाउँपालिका, प्लान इन्टरनेशनल नेपाल, कोइकाको सहयोगमा गेरुवा ग्रामिण जागरण संघले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्रिय गणेश मावि प्रसेनीपुर र एक प्रिय राठौर मावि पाताभारका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।गेरुवा ग्रामिण जागरण संघले गेरुवाका विभिन्न विद्यालयमा बनाएका भौतिक संरचना, महिनावारी आराम कक्ष, किशोर किशोरी मैत्री सूचना कक्ष स्थापना लगायतको वर्तमान अवस्थाको बारेमा छलफल भएको थियो ।त्यस्तै कार्यक्रममा लैङ्गिक तथा अपांगमैत्री शौचालय मर्मत र हात धुने स्थानको नियमित मर्मतसंभार तथा निरन्तर प्रयोग, महिनावारी आराम कक्ष तथा किशोर किशोरीमैत्री सूचना कक्षको निरन्तर उपयोग, वृहत यौनिकता शिक्षा र किशोरकिशोरीहरुलाई दौतरी शिक्षाको प्रभावकारीता, विद्यालय र स्वास्थ्य संस्थाबीचको सम्बन्ध, स्वास्थ्य संस्थाद्वारा किशोरकिशोरी मैत्री गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह/सन्चालन, स्थानीय सरकारसँगको निरन्तर तथा प्रभावकारीता समन्वय लगायतका बिषयमा समुहगत छलफल गरिएको थियो ।कार्यक्रमको सहजिकरण गर्दै किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाका संयोजक सुरज अर्यालले यो परियोजनाले महिनावारी हुने किशोरीहरु विद्यालयमा महिनावारी भएको बेला घर जानुपर्ने बाध्यता हटेको छ बताउँदै आराम कक्षमा गएर आराम गर्ने अभ्यास सुरु भएको उल्लेख गर्नुभयो ।

‘महिनावारी बेलामा आवश्यक प्याडको व्यवस्थापन महिनावारी क्लवले गरेको । आवश्यक परेमा पुरुष शिक्षकसँग सहजरुपले प्याड माग्ने अभ्यास सुरु भएको छ । यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा विद्यालयमा शिक्षकले विश्वासका साथ अध्ययन अध्यापन गराउनुहुन्छ ।’ संयोजक अर्यालले भन्नुभयो, ‘किशोरकिशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी लिनु एक सकारात्मक पक्ष हो । किशोरकिशोरीहरूले स्वास्थ्य संस्था पनि किशोरकिशोरीमैत्री हुनु पर्छ भन्ने कुराको जानकारी भएको र त्यसका लागि स्थानिय निकायलाइ यसका लागि बजेट विनियोजन गर्न योजना बनाएको । विद्यालय र स्वास्थ्य संस्था विच सेवा प्रदान गर्नका लागि सम्बन्ध स्थापना भएको छ ।’कार्यक्रममा गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारीले गेरुवा ग्रामिण जागरण संघले पालिकालाई सहयोग गर्दै विभिन्न कार्यक्रमहरु संचालन गरेको बताउनुभयो । उहाँले संघले गेरुवाका विद्यालयमा खेलेको भूमिका उल्लेखनिय भएको उल्लेख गर्नुभयो । परियोजनाका फिल्ड सुपरभाईजर शान्ति भट्टराईले संचालन गर्नुभएको कार्यक्रमको समापन संघका सचिव हरि प्रसाद शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा एक प्रिय राठौंर मावि पाताभारका प्रधानाध्यापक प्रकाश शाही, नेपाल राष्ट्रिय गणेश मावि प्रसेनीपुरका प्रधानाध्यापक झक्क प्रसाद ढुंगाना लगायतको सहभागिता रहेको थियो । गेरुवा गाउँपालिका वडा नं. ३ स्थित होटेल नेपसेन्ट्रिकमा कार्यक्रम सम्पन्न भएको थियो । फोटो फिचर

Back to top button