साउनमा हरियो रङप्रतिको आकर्षण

सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । तिथिअनुसार गुरुपूर्णिमाको भोलिपल्टदेखि नै साउन सुरु भएको थियो । जनैपूर्णिमासम्म साउन चल्नेछ । यस अवधिमा धेरैले विशेषगरी सोमबार व्रस्त बस्ने गर्छन् । ‘साउन महिनालाई विशेषगरी शिवजीको महिना भनेर मानिन्छ ।

सक्नेले साउन महिनाभर व्रत बस्छन् । हिन्दू धर्मअनुसार त्यसमा पनि सोमबारको अझै विशेष महत्व छ । यस दिन व्रत बस्ने, एक छाक मात्रै खाने, शिवजीलाई जल चढाउने गरिन्छ,’ संस्कृतिविद् प्रा.डा. माधव भट्टराईले भने, ‘शिवजीले प्रसन्न भएर सन्तान, धन, विद्या दिनुहुन्छ भन्ने विश्वास रहिआएको छ । मानिसहरू व्रत बस्दा अनुशासित हुन्छन् । शुद्ध हुने, शिवजीलाई जल चढाउने, चोखो खाने गर्नाले स्वास्थ्य पनि राम्रो हुन्छ ।’

यद्यपि, पछिल्लो समय साउनको महत्व धार्मिक रूपमा मात्रै सीमित छैन । फेसनका पारखीहरूले साउनलाई प्रकृतिसँग जोड्ने गरेका छन् । अधिकांशले हरियो रङका कपडा, हरियो रङका चुरा तथा मेहदी लगाउँछन् । जसकारण, प्रकृतिसँगै बजारमा पनि हरियाली छाउने गर्छ ।

सामान्य फुटपाथदेखि बुटिक, सपिङ मल, पसलहरू हरियो रङका कपडा, चुरा, पोतेलगायत सामग्रीले सजिन थालेका छन् । मेहदी आर्टिस्टहरूलाई पनि भ्याइनभ्याई छ । हरियो रङलाई खुसी र शान्तिको रङ मानिन्छ । त्यही कारण हरियो रङप्रति महिलाहरूको विशेष लगाव हुन्छ ।

ad

 

चाबहिलस्थित श्री महालक्ष्मी कलेक्सनकी सञ्चालक सेली शाहले साडी तथा चुरा–पोतेको व्यापार तथा मूल्य दुवै बढेको बताइन् । ‘यसपटक कपडाको मूल्य बढेको छ । यस सिजन विशेषगरी हरियो तथा पहेँलो रङको व्यापार बढ्छ । कुर्ता, साडीमा पोते, चुरा, धागो लगाएर हिँड्नेहरूको संख्या बढिसकेको छ,’ उनले भनिन्, ‘व्रत बस्ने महिलाहरूले रातो साडी, हरियो पोते र चुरा तथा अविवाहितले हरियो र पहेँलो टप्स लगाउन रुचाउँछन् ।’

उनले थपिन्, ‘कतिपय ग्राहकले तिजका लागि पनि काम लाग्ने भएकाले रातो कलरको साडी किन्छन् । अविवाहित युवतीहरूले रातोभन्दा पनि हरियो साडी र चुरा रोज्छन् ।’

रोजिना श्रेष्ठ
फेसन डिजाइनर, कायरा बुटिक
हरेक साउनमा हरियो कलर नै चल्छ । त्यसैले अहिले हरियो कलरका कपडाको अर्डर बढेको छ । यस समय अविवाहितहरूको रोजाइमा कुर्था पर्ने गरेको छ । यो लगाउन पनि निकै सजिलो हुन्छ । जर्जेट र सिफनका कुर्था बढी चल्छ ।

स्ट्रेट कुर्था, सरारा, गरारा, अनारकलीलगायत कुर्था अहिले निकै चलेका छन् । अनारकली स्लिम महिलाहरूलाई ज्यादा सुहाउँछ । यस सिजन प्रायः सिम्पल साडीको डिमान्ड बढी हुने गर्छ । १५ हजारदेखि २० हजारसम्ममा राम्रै क्वालिटीका साडी बजारमा पाइन्छन् । हरियो कलरमा अन्य कलर पनि म्याच गरेर लगाउँदा निकै राम्रो देखिन्छ ।

डा. माधव भट्टराई
संस्कृतिविद्

हरियालीको सिजन छ । हरियो साडी वा हरियो पोसाक लगाएर म्याच गर्न खोजिएको भन्ने तर्कसम्म गर्न सकिएला । तर, फेसनसँग धर्मलाई जोड्न मिल्दैन । हरियै लगाउनुपर्छ भनेर शास्त्रमा लेखिएको छैन । व्रत बस्नुपर्ने तथा भगवान्को पूजा–आराधना गर्नुपर्ने भएकाले सफा कपडा लगाउन जरुरी छ । नयाँ लगाउनुपर्छ भन्ने छैन । हाम्रोमा २०–२५ वर्षदेखि यस्तो फेसन चलिरहेको छ । अरूलाई देखाउनका लागि राम्रो लगाउने होडबाजीले अस्वस्थ प्रतिस्पर्धासँगै अनावश्यक खर्च पनि बढाएको छ । नयाँ पत्रिकाबाट

Back to top button