पीडित परिवारबाट गेरुवा १ वडाले सिफारिस शुल्क लिन्छ अरु वडाले निशुल्क गर्छन !

पुष्कर काफ्ले, गेरुवा । बर्दियाको गेरुवा गाउँपालिकामा वडा नं. १ ले जंगली जनावरले क्षति पुर्‍याएको सिफारिस लिदा पीडित परिवारसँग सिफारिस दस्तुर लिने गरेको छ । गेरुवा गाउँपालिकामा १ वडा बाहेक अन्य ५ वटा वडाले पीडित परिवारमा झनै पीडा थपिने भएकोले विपद्को बेलामा निशुल्क सिफारिस दिने गरेको बताएका छन ।

विपद् आइपरेको बेला गेरुवा १ ले सिफारिस दिदा शुल्क लिने गरेको खबर हामीले प्राप्त गरेपछि यस बारे १ नंं. का वडा अध्यक्ष कर्मप्रसाद चौधरीलाई सम्पर्क गरेका थियौँ । वडा अध्यक्ष चौधरीले आफुले पनि वडाले कुनै सिफारिस दिदा निशुल्क दिएको र कुनै सिफारिस दिदा शुल्क लिने गरेको देखेको बताउनुभएको छ । आफुले भने यस्तो सिफारिस दिँदा निशुल्क गर्नु भनेर वडा सचिवलाई खबर गरेको बताउनुभयो ।

हामीले वडा नं. १ का वडा सचिव प्रदिप शर्मालाई सम्पर्क गरेर यस बारे बुझ्न खोज्दा उहाँले १ वडा मात्र नभएर सबै वडाले लिने गरेको बताउनुभयो । हामीले अन्य वडाहरुसँग सम्पर्क गरिसक्यौँ अरु वडाले सिफारिस निशुल्क गर्ने गरेको छ भनेर उहाँलाई बुझाएपछि सचिव शर्माले पहिले आफुहरुले पनि निशुल्क सिफारिस दिने गरेको र पछिल्लो समय सिफारिस लिनेहरु बढेकोले शुल्क लिने गरेको गेरुवा अपडेलाई बताउनुभयो ।

‘एक दुई वटा मकै जंगली जनावरले क्षति पुर्याएपनि राहात पाउने आशामा वडामा सिफारिस लिन आउछन । राजस्व संकलन नभए कसरी पीडित परिवारलाई राहत दिने । ’ सचिव शर्माले भन्नुभयो, ‘यस्तो प्रवृद्धि कम होला भनेर सिफारिस दस्तुर लिन थालेका हौँ । दस्तुर लिदा पालिकाकै राजस्व बढ्ने हो ।’ यस बारे हामीले गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानालाई जानकारी गरायौँ ।

एक जना पीडितले वडामा बुझाएको दस्तुरको रसिद

उहाँले वडाले आफ्नो आन्तरिक राजस्व बढाउनको लागि शुल्क लिने गरेको हुन सक्ने बताउनुभयो । कुनै वडाले लिने र कुनै वडाले नलिने वडा अध्यक्षमा निर्भर पर्ने कुरा भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत रानाले वडाले सिफारिक शुल्क लिनु राम्रो भएको बताउनुभयो ।

‘वडाले सिफारिस लिएको पैसा १ सय ३० रुपैँया मात्र हो । पछि पीडित परिवारले पालिकाबाट कम्तिमा ३ हजार रुपैँया पाउने गर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत रानाले भन्नुभयो, ‘वडाले कुनै पनि सिफारिस दिदा राजस्व लिनु स्वभाविक हो ।’

हामीले यस बारे नेपाली कांग्रेस गेरुवा गाउँपालिका सभापति प्रेम बहादुर रावललाई जानकारी गराउँदा राजस्व उठाउनु पालिकाको लागि राम्रो पक्ष हो तर वडाहरु आफै स्पष्ट नहुने गलत भएको बताउनुभयो ।

त्यस्तै नेकपा एमाले गेरुवाका अध्यक्ष नुतन कुमार चौधरीले सिफारिस शुल्क लिनु गतल भएको बताउनुभयो । उहाँले पीडित परिवारलाई राहत दिने नाममा शुःल्क लिनु पीडित परिवारको पीडामा झनै पीडा थप्नु भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी गेरुवाका अध्यक्ष डिल्ली शर्माले वडाले सिफारिस दिदा लिने सामान्य दस्तुरले वडामा के नै कायापलट हुने हो भन्दै यस्तो कार्य गलत भएको बताउनुभयो । गेरुवामा दैनिक जसो जंगली जनावरले आतंक मच्याउने गरेका छन ।

१ सय ३० रुपैँया कसैलाई सामान्य लाग्ला तर कुनै परिवारलाई त्यो पनि ठुलो रकम हो । पीडित परिवारलाई वडाले थप पीडा थप्नुभन्दा राहत दिनु पर्ने धेरैको बुझाई छ ।

Back to top button