सांसद गौतमद्वारा ११ बुँदे सहमति सँगै अनसन स्थगित

गुलरिया । गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाट स्थित बबई नदीमा पुल निर्माणको माग राख्दै सांसद सञ्जयकुमार गौतमले आठौ दिनसम्म जारी राखेको अनसन ११ बुँदे सहमति सँगै अनसन स्थगित भएको छ । सरकारको तर्फबाट सहमति जुटाउन बर्दिया आउनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सांसद गौतम बीच ११ बुँदे सहमति भएसँगै अनसन तोडिएको हो ।

मन्त्री ज्वालाले सांसद गौतमलाई जुस पिलाएर अनसन तोड्नु भएको हो । बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गौतम जब्दीघाटमा भत्किएको पुलका संरचना हटाइ नयाँ पुल निर्माण गर्नुपर्ने, गुलरिया बचाउनका लागि तटबन्धको बाँकी काम पुरा गर्न बजेट नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिञ्चाई आयोजनाको बजेट सुनिश्चित गर्नुपर्ने, भूरीगाउँ–तेलपानी–सुर्खेत सडक निर्माण शुरु गर्नुपर्ने लगाएतका पन्ध्र बूँदे माग राख्दै आमरण अनसनमा बस्नु भएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंंचाई मन्त्री गौतमले पुल निर्माण लगायतका विषयमा संसदमा पटक पटक आवाज उठाउँदा र प्रधानमन्त्री तथा विभागीय मन्त्रिहरुसंग पटक पटक कुरा राख्दा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर अनसन बस्नु परेको बताउनु भयो । सांसद गौतमले सरकारले गरेको सहमति अनुसार काम हुनेमा विश्वास व्यक्त गर्दै सरकारले आफ्ना मागहरु अक्षरश पालना गर्नुपर्ने बताउनुभयो ।

आफू तीन तीन पटक बर्दियाको निर्वाचित सांसद भएपनि जब्दीघाट पुल निर्माण, नदी कटान, भूमिहिन सुकुम्बासी समस्या, कृषकका समस्याका विषयमा संसद, सरकार र सडक सम्म दर्जनौ पटक कुरा उठाएको तर कुनै पनि सुनुवाई नभएको हुँदा भत्केकै पुलमुनि अनसन बस्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सरकार जनताको समस्या समाधान गर्न सदैव तत्पर रहेको उल्लेख गर्दै जनताको समस्यानै आफुहरुको समस्या भएको बताउनुभयो । उहाँले जब्दीघाटमा भत्किएको पुलका संरचना हटाइ नयाँ पुल निर्माणको लागि चाडै टेन्डर आह्वान हुने आश्वासन दिनुभयो ।

क्षतिग्रस्त पुल नबन्दा गुलरिया र बारबर्दिया क्षेत्रका लाखौ स्थानीय प्रभावित भएका छन् भने बर्षायाममा डुंगाको जोखिम पूर्ण यात्रागर्न बाध्य छन् । निर्माण कम्पनी पप्पु कन्ट्रक्सनले २०६५ सालदेखि निर्माण शुरु गरेको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । ४२५ मिटर लम्बाईको उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको हो । २०७४ साल साउन २९ गते आएको बाढीबाट हस्तान्तरण नहुँदै पुलका तीनवटा स्पान भासिएर पुल क्षतिग्रस्त बनेको थियो । भने गत असोज २२ गते आएको बाढीले क्षतीग्रस्त पुल बगाएको थियो ।

Back to top button