प्रमुख प्रशासकीय अधिकृत रानाको अगुवाईमा गेरुवा ५ कटेशपुरमा विवादित क्षेत्रको निकास

कटेशपुर । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाको सक्रियता र स्थानीयको सहयोगमा विवादित क्षेत्रको निकास निस्किएको छ । लक्ष्मीपुजा निर्माण सेवाले गेरुवा ५ स्थित पथरैया, पटुवारीपुर हुँदै कटेशपुर सिँचाई रोडसम्म कालोपत्रे सडक निर्माण कार्यमा ठाउँ ठाउँमा विवाद हुँदा कामले गति लिन सकेको थिएन ।करिब १५ सय मिटर निर्माण हुन थालेको खडकखण्डमा कसैले नक्सा अनुसार सडक निर्माण हुनुपर्ने बताएका थिए भने कसैले चलनचल्तिको बाटोलाई आधार मानेर सडक निर्माण हुनुपर्ने बताएका थिए । प्रमुख प्रशासकीय अधिकृत रानाले बडघर सहदेव थारु लगायत बुद्धिजिवीहरुसँग छलफल गरेर नक्सा अनुसार काम गर्दा धेरै समय लाग्ने र निर्माण कार्य समयमै सम्पन्न हुन नसक्ने भएकोले चलनचल्तिको बाटोलाई बिच सेन्टर बनाएर दुबै तर्फ बराबारी क्षेत्रफल लिएर अगाडी बढ्ने प्रस्ताव राख्नुभएको थियो ।उहाँले सडक कालोपत्रे हुनु हामी सबैको लागि गर्वको कुरा भएको बताउँदै विकास निर्माणको काममा खुलेरै सहयोग गर्नुपर्ने बताउनुभएको थियो । लामो समयको छलफल पछि चलनचल्तिको बाटोलाई आधार बनाएर बिच सेन्टरबाट नाला सहित १५ मिटरको सडकको साईड छुट्याउने काम सहमतिमा भएको छ । चलनचल्तिको बाटोलाई आधार मानेर अघि बढ्ने सहमति भएपछि स्थानीय जयलाल चौधरीको नक्सा अनुसार करिब ५/६ कठ्ठा जमिन गुमाउनुपर्दा समेत उहाँले विकास निर्माणको कार्यमा अवरोध नगरेर खुलेरै सहयोग गर्नुभयो । गेरुवा ५ का वडा सदस्य एवं स्थानीय विरेन्द्र बहादुर शाह, गेरुवा गाउँपालिकामा कार्यरत सव इन्जिनियर खगेन्द्र बडुवाल, हरि प्रसाद अधिकारी, स्थानीय, निर्माण कम्पनी लगायतको उपस्थितिमा सहमति जुटेको हो । सहमति जुटेसँगै कामले तिव्रता लिने विश्वास लिइएको छ । शनिवार छुट्टीको समयमा समेत फिल्डमा गएर विवादित क्षेत्रको समस्याको हल निकाल्न प्रयत्नशिल गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाको स्थानीयले खुलेरै प्रसंसा गरेका छन । फोटो फिचर

Back to top button