गेरुवा गाउँपालिकाले अनुगमनमा कडाई गरेपछि निर्माण व्यवसायी तातिदै

गेरुवा । गेरुवा गाउँपालिकाले शनिवार गेरुवामा संचालनमा रहेका योजनाहरुको अनुगमन गरेको छ । गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको संयोजगत्वमा अनुगमन गरिएको हो ।अनुगमनमा उपाध्यक्ष चौधरीसँगै गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश थारु, कार्यपालिका सदस्य श्याम पति चौधरी, योजना शाखाका प्रमुख कुन नारायण चौधरी, सव इन्जिनियर भुमिराज घिमिरे, खगेन्द्र बडुवाल लगायतको सहभागिता रहेको थियो ।अनुगमनका क्रममा केही निर्माण व्यवसायीहरुले तिव्र गतिमा योजनाहरुलाई अगाडी बढाएका छन भने केही निर्माण व्यवसायी निदाएका र केही कछुवाको गतिमा अगाडी बढिरहेको देखिएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले बताउनुभयो ।उहाँले समयमानै कार्य सम्पन्न गर्न लागिपरेका निर्माण व्यवसायीहरुलाई सम्मान गर्ने र काम नगर्ने निर्माण व्यवसायीहरुलाई पटक–पटक योजना अगाडी बढाउन अनुरोध गर्दा पनि अटेर गरे प्रक्रिया अनुसार कालोसुचिमा राख्ने उल्लेख गर्नुभयो ।अनुगमन टोलीले गेरुवा गाउँपालिका वडा नं. १ देखि ६ वडासम्म संचालनमा रहेका योजनाहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा हमाल विल्डर्स बैजनाथ ३ बाँकेले अलपत्र पारेको गेरुवा ३ शान्तिबजारदेखि खुटेना सडक खण्डको काम तत्काल अगाडी बढाउन पालिकाले पटक–पटक जानकारी गराएको छ ।त्यस्तै निराजन कन्ट्रक्सनले समेत गेरुवामा धेरै योजनाहरुमा हात हालेको र सोही अनुसार काममा तिव्रता दिन नसकेको देखिएको छ । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले निराजन कन्ट्रक्सनले जनशक्ति थप गर्दै कालोपत्रे बनाउन तयार पारिएको सडकलाई कालोपत्रे बनाउँदै अन्य योजनाहरुलाई समेत अगाडी बढाउनुपर्ने बताउनुभयो ।

 

Back to top button