सिकलसेस सम्बन्धि रगत परिक्षण गर्ने उपकरणको गेरुवामा उद्घाटन

गणेशपुर । करिब १ बर्ष अगाडी भित्र्याइएको सिकलसेस सम्बन्धि रगत परिक्षण गर्ने उपकरणको गेरुवामा उद्घाटन एवं परिक्षण सुभारम्भ गरिएको छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले पाताभार स्वस्थ्य चौकीमा उक्त उपकरणको उद्घाटन गर्नुभएको हो ।सिकलसेस सम्बन्धि रगत परिक्षण गर्ने उपकरणको उद्घाटन गरिएसँगै महङ्गो मुल्य तिरेर सिकलसेस परिक्षण गर्न बाहिर जानुपर्ने बाध्यता गेरुवाबासीको टरेको छ । गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले पालिकाले सिकलसेस परिक्षण निःशुल्क गर्न करिब बार्षिक ७०/८० लाख बजेज विनियोजित गर्नुपर्ने अवस्था भएकोले निःशुल्क परिक्षण गर्न सक्ने अवस्था नएकोले न्युनतम शुल्कमा परिक्षणको व्यवस्था हुने गेरुवा अपडेलाई बताउनुभयो ।

यस उपकरणको केमिकल महङ्गो भएकोले न्यूनतम शुल्कमा रगत परिक्षणको व्यवस्था स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिको बैठकले निर्णय गर्ने जनाइएको छ ।

सिकलसेलको लक्षण

सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ ।

हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखा पर्छ । पेट दुख्छ ।

जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् ।

त्यस्तै पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर पार्छ ।

समग्रमा थारु जातीका किशोर किशोरीमा यी लक्षण देखा पर्ने हुँदा उनीहरुमा यी लक्षण देखा परे चाँडो भन्दा चाँडो रोगको पहिचान गरी उपचार गर्नु आवश्यक छ ।

सिकलसेलको उपचार

यसको यकिन उपचार त छैन । तर, समयमा रोगको उपचार भयो, औषधि भयो भने यो रोग चाँडै निको हुन सक्छ । त्यस्तै यस्ता रोगका विरामीको पाचन शक्ति कमजोर हुने भएकाले बच्चाहरुलाई दुई-दुई वर्षमा निमोनिया विरुद्धको खोप दिनुपर्छ ।

उनीहरुलाई बेला-बेलामा रगत चढाउनु पर्ने हुँदा समय-समयमा रगत जाँच गर्नुपर्छ ।

बच्चाहरुलाई निमोनियाबाट बचाउनु पर्ने हुँदा पेनेसिलिनको चक्की दिने, रगत बढाउन फोलिक एसिड दिइन्छ ।

धेरै गर्मीको मौसममा यस्ता रक्त कोषिका हसिया आकारमा परिणत हुने गर्दछ । त्यसैले धेरै चिसो तथा तातोबाट पनि रोगीलाई बचाउनु पर्छ ।

धेरै ज्वरो आएमा पनि विरामीलाई यो रोगले च्याप्ने हुँदा चिकित्सकहरुले धेरै पानी पिउन विरामीलाई परामर्श दिने गर्दछन् । त्यस्तै झोलिलो, पासिलो खानेकुरा खान सुझाव दिइन्छ । धेरै समस्या भएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी अथवा स्वास्थ्य संस्थामा गएर जचाउनु पर्दछ । यतिमात्र गर्न सकेपनि धेरै विरामीको ज्यान बच्न सक्छ ।

(अनलाईन खबरले प्रो. डा. कायश्थसँग ऋचा अर्यालले गरेको कुराकानीमा आधारित । फिजिसियन कायश्थ हाल वीर अस्पतालमा कार्यरत छन् ।)

Back to top button