खरखडाईका लागि दुई दिन बर्दिया राष्ट्रिय निकुञ्ज खुल्ने

गेरुवा । बर्दिया राष्ट्रिय निकुञ्जले विगतका बर्षहरुमा झै यस बर्ष पनि खरखडाई खुल्ला गर्ने भएको छ । मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यकतालाई मध्यनजर गरी हरेक वर्ष केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ । निकुञ्ज खुलेपछि स्थानीयबासीले वर्ष भरीका लागि घर गोठ छाउन आवश्यक खरखडाइ, सेठा र बाबियो लगाएतका सामाग्रीहरु निकुञ्जबाट काटेर ल्याउने गर्छन ।

खरखडाइका लागि राजश्ववापत प्रती व्यक्ति पुर्जी दस्तुर रु ५० र संरक्षण शुल्क रु ५० गरि जम्मा रु १ सय रुपैँया शुल्क निकुञ्जले लिने गरेको छ । खरखडाइ काट्नका लागि हसिँया र डोरी वाहेक अन्य सामाग्री निकुञ्ज भित्र लैजान निकुञ्जले निषेध गरेको छ । खरखडाइका बेला हुन सक्ने चोरी सिकारलाई मध्यनजर गरी निकुञ्जको सुरक्षामा थप कडाई गरिएको निकुञ्जका रेञ्जर कलाधर गौतमले बताउनु भयो ।यही माघ ९ र १० गते निकुञ्ज क्षेत्रबाट खरखडाई संकलन गरि निकासी गर्ने सुविधा निकुञ्जले दिएको छ । खरखडाईका लागि माघ ७ र ८ गते पुर्जी काटिने जारी सुचनामा उल्लेख छ । खरखडाई संकलन गर्न इच्छुक मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाले पुर्जी काट्न सक्नेछन् ।

खरखडाइ संकलनको क्रममा निकुञ्जले तोकेको सर्तहरु पालना गर्नु पर्ने छ । वन्यजन्तुबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट निकुञ्ज प्रवेश गर्दा समुहमा हिड्ने र सुरक्षाका उपाय अपनाउनु पर्नेछ । त्यसैगरी १६ वर्ष मुनिका बालबालिका, वृद्धाबृद्ध र अशक्त व्यक्तिलाई निकुञ्ज प्रवेशमा रोक लगाईनेछ । खरखडाई संकलन गर्न बिहान ७ बजेदेखी निकुञ्ज प्रवेश गर्ने र साँझ ५ बजे भित्र बाहिर निस्कनुपर्ने जनाईएको छ । त्यसैगरी तोकिएको नाकाबाट प्रवेश गर्ने र निस्कने व्यवस्था गरिएको छ ।

Back to top button