जनजागरण महिला संघद्वारा गेरुवामा सुत्केरी महिलालाई न्यानो कपडा वितरण

राज क्षेत्री, पथरैया । जनजागरण महिला संघ बर्दियाले गेरुवामा सुत्केरी महिलाहरुलाई बिहिबार न्यानो कपडा वितरण गरेको छ । गेरुवा गाउँपालिकाका ६ वटै वडाका २६२ जना सुत्केरी महिलाहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो ।गेरुवा गाउँपालिकाको वडा नं. ५ मा औपचारिक रुपमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले चिसो मौसमा न्यानो कपडा वितरण गरेर जनजागरण महिला संघले अत्यन्तै राम्रो काम गरेको बताउनुभयो ।उहाँले आगामी दिनमा पनि गेरुवामा यस्ता सामाजिक कार्यहरु गर्न संघलाई अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोमा पौडेलले यस अघि पनि गेरुवामा बाढीको समयमा बाढी पीडितहरुलाई राहत वितरण गर्ने प्रयास गरिएपनि पालिकामा विविध समस्याका कारण त्यो राहत अनेत्र वितरण गर्नुपरेको बताउनुभयो ।उहाँले आफुहरु सामाजिक कार्यमा सदैव अग्रसर हुने भएकोले यस पछिका कार्यक्रम पनि गेरुवामा समावेश गर्न पहल चाल्ने उल्लेख गर्नुभयो । कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरी, सुआरा कार्यक्रमका कृषि विज्ञ सुजन गौली, पशुपतिनगर स्वास्थ्य चौकीका निमित्त इन्चार्ज खेम प्रसाद चौधरी, प्रशुराम चौधरी, संघका स्वयमसेवक सावित्रा शाही लगायतको सहभागिता रहेको थियो ।गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक पुष्प बहादुर विष्टले कार्यक्रमको संचालन गर्नुभएको थियो । टेवा काठमाण्डौंको सहयोगमा जनजागरण महिला संघ बर्दियाले गेरुवा गाउँपालिकाका ६ वटै वडाहरुमा पुगेर सुत्केरी महिलाहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।चिसो मौसमा न्यानो कपडा पाएपछि सुत्केरी महिलाहरुले केही राहतको महसुस गरेका छन । उनीहरुले यस्ता कार्यक्रम संघ संस्थाहरुले मात्र नभएर पालिकाले पनि संचालन गर्नुपर्ने बताएका छन । फोटो फिचर

Back to top button