कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी

लुम्बिनी । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरीलाई चयन गरिएको छ । कांग्रेस संसदीय दलको बैठकले दाङ क्षेत्र नम्बर ३(१) बाट निर्वाचित चौधरीलाई दलको नेतामा चयन गरेको हो । उनी दोस्रोपटक प्रदेश सभामा निर्वाचित हुन् । यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित चौधरी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री भएर पनि काम गरिसकेका छन् । दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका चौधरी तत्कालीन अवस्थामा श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।

चौधरी संस्थापन पक्षका हुन् । संस्थापन पक्षबाट चौधरीसहित राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले दाबी गरेका थिए । संस्थापन इतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए ।  लुम्बिनी प्रदेश सभामा कुल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् ।

एमाले संसदीय दलको नेतामा गिरी
लुम्बिनी प्रदेशको संसदीय दलमा एमालेले लीला गिरीलाई चयन गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले गिरीलाई दलको नेतामा चयन गरेको सांसद सीता चौधरीले जानकारी दिइन् ।  गिरी रुपन्देही क्षेत्र नं.२ (१)बाट निर्वाचित सांसद हुन् । उनी यसअघि संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भएर काम गरेका थिए ।

लुम्बिनीमा एमालेका सबैभन्दा बढी सांसद छन् । ८७ जना प्रदेश सभा सदस्यमध्ये एमालेका २९ सांसद छन् । एमाले प्रदेशको ठूलो दल भएकाले लुम्बिनीको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको एमाले महासचिव शंकर पोखरेलले बताए ।

Back to top button