‘सरकारमा म जान्नँ, बन्द कोठाभित्र हुने सहमति मान्य छैन’ : गगन थापा

काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताउनुभएको छ ।

उहाँले अब बन्ने सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पार्नुभएको छ । संसदीय दलको नेता छान्न आज भएको चुनावको परिणामपछि अब सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको समेत थापाले बताउनुभयो । संसदीय दलको नेताका प्रतिस्पर्धी रहेका थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई समेत दिनुभएको छ ।

उहाँले भन्नुभयो,‘संसदीय दलको नेतामा पटक–पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ । उहाँलाई शुभकामना छ । उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस् ।’

संसदीय दलको चुनावमा देउवाले ६४ र थापाले २५ मत प्राप्त गर्नुभयो । आफूले पाएको मत अपेक्षाभन्दा कम भएको पनि थापाको भनाई छ ।

Back to top button