केरलालाई समेत धन्यवाद दिएको अर्जेन्टिनी फुटबल टिमले नेपाललाई सम्झिएन, नेपाली समर्थकको रोष

काठमाडौं । अर्जेटिनी फुटबल टिमले हिजो आफ्नो आधिकारिक ट्विटर पेजबाट एउटा भिडियो रिट्वीट गर्‍यो । बङ्गलादेशका जनताले अर्जेन्टिनाको जितमा खुसीयाली मनाइरहेको दृश्य सो भिडियोमा कैद थियो ।

टिमले भिडियो सेयर गर्दै बङ्गलादेशी समर्थकलाई धन्यवाद दिएको छ । उक्त ट्विटमा भारत, पाकिस्तान र भारतकै एउटा राज्य केरलालाई पनि सम्वोधन नगरिएको छ ।

‘धन्यवाद बङ्गलादेश । धन्यवाद केरला, भारत, पाकिस्तान । तपाईँहरूको समर्थन गज्जबको थियो ।’ टिमले भनेको छ ।

तर, यसरी भारतको एउटा राज्यसम्मलाई धन्यवाद दिँदा नेपाललाई सम्बोधन गरिएन । जबकि नेपालमा अर्जेन्टिना र लियोनल मेस्सीका लागि निकै ठूलो समर्थन थियो । विश्वकप फाइनलमा अनुमानित ७५ प्रतिशतभन्दा बढीले अर्जेन्टिनाको समर्थन गरेका थिए ।

तर, अर्जेन्टिनी फुटबल टिमले आफूहरूलाई नसम्झिएको भन्दै नेपाली फ्यान रुष्ट बनेका छन् ।

उक्त ट्विटमा केही नेपालीहरूलाई टिमप्रति रोष प्रकट गरेका छन् । नेपालमा अर्जेन्टिनाको जितको खुशी मनाइएको भिडियो पनि उनीहरूले पोस्ट गरेका छन् ।

टिमले भने कुनै प्रतिक्रिया दिएका छैन ।

केरला किन सम्झियो ?

केरला भारतकै राज्य हो । टिमको ट्विटमा भारत उल्लेख भइसकेपछि केरलालाई किन छुट्टै धन्यवाद दिइयो भन्ने पनि कौतुहल छ ।

भारतमा फुटबल पहिलो प्राथमिकताको खेल होइन । भारतका अधिकांश स्थानहरूमा क्रिकेट सर्वाधिक लोकप्रिय छ । फुटबललाई भारत सरकारले पनि उति प्राथमिकता दिँदैन । तर, केरला भने फुटबल प्रेमीहरूको राज्य हो ।

अरू राज्यभन्दा भिन्न यहाँ क्रिकेटभन्दा फुटबल लोकप्रिय छ । सबैभन्दा बढी लियोनल मेस्सीकै समर्थक छन् । त्यसैले अर्जेन्टिनाको जितपछि यहाँ निकै ठूलो उत्सव मनाइएको थियो । यसबारे जानकार भएर नै टिमले केरलालाई छुट्टै धन्यवाद दिएको बुझिन्छ ।

Back to top button