राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको सकस जारी

काठमाण्डौंं । प्रतिनिधि सभामा समानुपातिकतर्फको ७५ प्रतिशत बढी मत गणना भइसक्दा नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी बन्न चाहिने ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकस परिरहेको छ।

आइतबार बिहानसम्म समानुपातिकतर्फ  ८३ लाख ९२ हजार २९८ मत गणना हुँदा एकीकृत समाजवादीले २ लाख २२ हजार ७५७ मत पाएको छ। अर्थात् अहिलेसम्म उसको मत २.६५ प्रतिशत पुगेको छ।

९ लाख मत गणना हुँदा १.५ प्रतिशतको हाराहारीमा मत पाएको एकीकृत समाजवादीको मत पछिल्लो समय बढ्दै गएको छ तर त्यसको गति निकै धिमा छ।

१९ लाख मत गणना हुँदा एकीकृत समाजवादीले १.७ प्रतिशत मत पाएको थियो। ४८ लाख मत गणना हुँदा भने उसले २ प्रतिशत मत कटाएको थियो। शनिबार बिहान ६७ लाख मतगणना हुँदा एकीकृत समाजवादीले २.५ प्रतिशत मत पाएको थियो। ४८ लाखदेखि ६७ लाखसम्मको गणनामा उसको मत केही बढेको थियो।

एकीकृत समाजवादी तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्नेतर्फ अग्रसर भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चासो व्यक्त गरेका थिए।

शनिबार साँझ एकीकृत समाजवादीलाई संकेत गर्दै समानुपातिकतर्फ केही दलको मत अस्वाभाविक रूपमा बढ्दै गएको ओलीले बताएका थिए।

‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत मत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ’ भन्दै ओलीले मतगणनास्थलमा रहेका आफ्ना प्रतिनिधिहरूलाई चनाखो हुन भनेका थिए।

७६ लाख मत गणना हुँदासम्म एकीकृत समाजवादीको मत २.५५ प्रतिशत थियो। ८३ लाख मत गणना भएपछि एकीकृत समाजवादीले २.६ प्रतिशत मत पाएको देखिन्छ।

टेबलमा हेर्नुस् एकीकृत समाजवादीले पाइरहेको मतको ट्रेन्ड:

निर्वाचन आयोगका अनुसार मंसिर ४ को निर्वाचनमा १ करोड ७९ लाख मतदाता थिए। आयोगको तथ्यांकअनुसार यसपालि ६१ प्रतिशत मतदान भएको छ। अर्थात् १ करोड ९ लाखको हाराहारीमा मत खसेको छ। यसरी हेर्दा अब झन्डै २५ लाख मत गन्न बाँकी छ।

समानुपातिकमा थ्रेसहोल्डको मापन सदर मतमा गरिन्छ। अहिलेसम्म कति मत बदर भएको छ भन्ने एकिन तथ्यांक सार्वजनिक भएको छैन्।

मोटामोटी हिसाब गर्दा समानुपातिकमा कुनै दलले थ्रेस होल्ड कटाउन ३ लाख २५ हजारको हाराहारीमा मत पाउनु ल्याउनु पर्ने हुन्छ।

यसको अर्थ समानुपातिकमा थ्रेस होल्ड कटाउन एकीकृत समाजवादीले गन्न बाँकी २५ लाख मतमध्ये १ लाखको हाराहारीमा मत ल्याउनु पर्ने देखिन्छ।

एकीकृत समाजवादीले अहिलेसम्म पाएको मत कुन क्षेत्रको हो भन्ने खुलिसकेको छैन। प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० क्षेत्रमा जित हात पारेको छ। तीमध्ये कर्णाली र सुदूरपश्चिममा मात्रै ६ सिटमा उस जित निकालेको हो।

अब गन्न बाँकी मतबाट उसलाई कति मत आउँछ भन्न कठिन छ। अहिलेसम्म पाएको मतको ट्रेन्ड हेर्दा बाँकी २५ लाख मतमा एकीकृत समाजवादीले १ लाख मत पाउन निकै कठिन हुने देखिन्छ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको इलाम १ मा यो पार्टीले समानुपातिकतर्फ केही मत बढाउन सक्छ। मतगणना सुरू नै नभएका दोलखा,  स्याङ्जा २ र बाजुरामा यो दलले कति मत पाउँछ भन्ने एकिन छैन। सेतोपाटीबाट

Back to top button