बाल विवाह न्यूनिकरण परियोजना अन्तर्गत बि–ग्रुपद्वारा गेरुवामा दुई दिने तालिम सुरु

गेरुवा । भेरी वातावरणीय विशिष्ट समुह (बि–ग्रुप) को आयोजनमा गेरुवामा मंगलबार दुई वटा तालिम सुरु भएका छन । विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि लैङ्गिक रुपान्तरण र सुरक्षित विद्यालय कार्य ढाँचा सम्बन्धि दुई दिने तालिम समेत मंलबारदेखि सुरु भएको छ ।

गेरुवा ३ शान्तिबजारमा सुरु भएको तालिममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारीको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले सहभागिहरुलाई पालिकामा भएका विभिन्न बिषयबस्तुहरु छलफलमा ल्याउन आग्रह गर्नुभयो ।उहाँले बालविवाह न्यूनिकरण गर्न अति आवश्यक रहेकोले बालविवाह न्यूनिकरण गर्न सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा सभापति रहनुभएका गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारीले विद्यालयलाई सुरक्षित विद्यालय बनाउन सके शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी हुने बताउनुभयो ।

विद्यालयमा शोषण, दुर्व्यवहार, दण्डीत जस्ता कार्यहरु नभई विद्यालय भयरहित वातावरणमा शिक्षण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । तालिमको सहजिकरण स्याक नेपालका कृष्ण गिरीले गर्नुभएको छ । भेरी वातावरणीय विशिष्ट समुह (बि–ग्रुप) का सुपरभाइजर ज्ञान बहादुर चौधरीले बि–ग्रुपले गेरुवाका ९ वटा विद्यालयमा काम गरिरहेको जानकारी दिनुभयो ।उहाँले समाजमा काम गर्ने विभिन्न अगुवा व्यक्तिहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमहरु संचालन गरिएको बताउनुभो । बालविवाह न्यूनिकरणमा समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले यस्ता कार्यक्रमले बालविवाह केही हदसम्म भएपनि कम गर्न सकिने उहाँको विश्वास छ ।यस्तै गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजार स्थित होटल नेपसेन्ट्रिकमा दुई दिने बाल विवाह न्यूनिकरण परियोजना अन्तर्गत नागरिक समाजका लागि समुह निर्माण अभ्यास तथा पैरवी सम्बन्धि क्षमता विकास तालिम समेत सुरु गरिएको छ । तालिमको सहजिकरण गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले गर्नुभएको छ ।कार्यक्रममा महिला सञ्जाल, युवा सञ्जाल, बाल क्लबका बालबालिका, बडघर, मेलमिलापकर्ता, रेडक्रसकर्मी, वन समिति, महिला स्वास्थ्य स्वयम सेविका, पत्रकार लगायतको सहभागिता रहेको छ । बुधबारसम्म चल्ने कार्यक्रममा बाल विवाह न्यूनिकरण सम्बन्धि विभिन्न बिषयबस्तु समेटिने बि–ग्रुपका सुपरभाइजर ज्ञान बहादुर चौधरीले गेरुवा अपडेटलाई बताउनुभयो ।

Back to top button