बाढीपीडितद्वारा गेरूवा गाउँपालिकामा पुनः तालाबन्दी 

गेरूवा । छुटेका बाढीपीडितको पुनः डाटा संकलन गरेर विश्व खाद्य कार्यक्रमलाई सिफारिस गर्ने निर्णय गरेपछि सेलाएको बाढीपीडितकोआन्दोलन पुनः तातिएको छ ।

संभावित बाढीपीडितको तथ्यांक लिएर आफुहरूलाई झुक्याउने काम भएको भन्दै बाढीपीडितले गेरूवा गाउँपालिकाको कार्यालयमा बिहीबार पुनः तालाबन्दी गरेका छन ।

गाउँपालिकाले संकलन गरेको पछिल्लो तथ्यांकबाट आफुहरूले राहत पाउने कुनै सुनिश्चित नभएको भन्दै बाढीपीडितले तालाबन्दी गरेका हुन ।

आक्रोशित गेरूवा ५ का बाढीपीडितले गाउँपालिकाको कार्यालयसँगै गेरूवा ५ को वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन ।

गाउँपालिकाले संकलन गरेको पछिल्लो तथ्यांक हामीलाई झुक्याउने खेल मात्र भएको भन्दै एक गाउँ बडघरले आफुहरूलाई तत्काल राहतको व्यवस्था नभएसम्म चुप लागेर नबस्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीले विश्व खाद्य कार्यक्रमको सहयोगमा गेरूवामा वितरण गरिएको राहत वास्तविक बाढीपीडित भन्दा गैर बाढीपीडितले पाएको भन्दै बाढीपीडितहरू आन्दोलित हुन ।

यता गेरूवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले आफुहरू गेरूवाका सबै बाढीपीडितलाई राहत मिलाउने प्रयसामा रहेको गेरूवा अपडेटलाई बताउनुभयो ।

उहाँले गेरूवा ५ का  छुटेका संभावित बाढीपीडितलाई राहत उपलब्ध गराउने उदेश्यले विश्व खाद्य कार्यक्रमलाई सिफारिस गर्ने भनेर निर्णय समेत भएको जानकारी दिनुभयो ।

गेरूवा गाउँपालिका वडा नं. १ मा ४६५, वडा नं. २ मा ५२८, वडा नं. ३ मा ४३५, वडा नं. ४ मा ४८५, वडा नं. ५ मा ४१३ र वडा नं. ६ मा ५३३ जना परिवार गरि २ हजार ८ सय ५९ परिवारले विश्व खाद्य कार्यक्रमद्वारा राहत पाएका छन ।

जसमध्ये २० प्रतिशतको राहत आउन बाँकी रहेको नेपाल रेडक्रस सोसाइटी गेरूवा उपशाखाका अध्यक्ष नरेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

Back to top button