आफु जनताको साझा उम्मेदवार भएको राप्रपा नेता रावलको भनाइ

गेरूवा । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिनय रावलले आफु जनताको साझा उम्मेदवार भएकोले जनताको मत आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

सक्रिय युवा समाजले गेरूवामा आयोजना गरेको दोस्रो सक्रिय कपको पुरस्कार वितरण कार्यक्रममा बोल्दै राप्रपाका प्रभावशाली नेता रावलले लामो समय आफुले समाजसेवा गर्दै आइरहेको उल्लेख गर्दै जनताले आफुलाई साथ दिने बताउनुभयो ।

`आमाबाबुले आफ्नो छोरीको बिहे गर्दा ज्वाइ राम्रो परोस् भनेर केटाको आनीबानी सबै तिर चनाखो भएर ध्यान दिन्छन्´ नेता रावलले भन्नुभयो, `यस्तो गर्नुमा छोरीलाई राम्रो ज्वाइको खोजी गर्न सके छोरीको भविष्य सुन्दर बनोस् भन्ने हो ।´

नेता रावलले कन्यादान जस्तै मतदान पनि महत्त्वपूर्ण भएकोले मतदान गर्न मतदान केन्द्रमा पसेपछि आँखा चिम्म गरेर एक पटक बर्दियाको विकासका लागि योग्य उम्मेदवार को भनेर मनन गर्न अनुरोध गर्नुभयो ।

Back to top button