गेरुवामा डेङ्गीको संक्रमण पुष्टि नभएपनि जोखिम प्रवल छ – स्वास्थ्य शाखा प्रमुख भण्डारी

गेरुवा । गेरुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले गेरुवामा अहिलेसम्म डेङ्गी रोगको संक्रमण पुष्टि नभएको गेरुवा अपडेटलाई जानकारी दिनुभएको छ । उहाँले डेङ्गी रोगको संक्रमण पुष्टि नभएपनि जोखिम भने प्रवल रहेको बताउनुभयो ।

‘डेङ्गी रोग रोकथामका लागि स्वास्थ्य शाखाले सरसफाई कार्यक्रमलाई अभियानका रुपमा लिने तयारी गरेको छ ।’ स्वास्थ्य शाखा प्रमुख भण्डारीले भन्नुभयो, ‘गेरुवाका सबै समुदायहरुमा महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेर डेङ्गी रोग रोकथामको लागि कार्य गरिने छ ।’ उहाँले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न आग्रह गर्नुभएको छ ।

यस्तै, उच्च ज्वरो आए, जिउ दुखे, टाउको दुखे जथाभाबी औषधि नखान र अस्पताल जान पनि उहाँको सुझाव छ । देशभर डेङ्गी रोगको संक्रमण तिव्र रुपमा फैलिदै गर्दा पनि गेरुवामा भने जनचेतनामूलक कार्यक्रम र सरसफाई अभियान गर्न ढिलाई गरिएको स्थानीयको आरोप छ ।डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ ।

डेङ्गीको सङ्क्रमणका कारण सात जनाको ज्यान गएको सूचना प्राप्त भए पनि पाँच जनाको मात्रै पुष्टि भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।

उहाँका अनुसार डेङ्गी सङ्क्रमण भएर ज्यान गुमाएका पाँचमध्ये दुई जनामा अन्य कडा खालका रोगसमेत पाइएको छ । एक जनालाई कडा खालको दीर्घरोग र अर्का एक जनालाई डेङ्गीसँगै स्क्रब टाइफस पनि भएको पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

दीर्घ र अन्य रोग भएकालाई डेङ्गी भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन डाक्टर दाहालको सुझाव छ । डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।

Back to top button