एमाले संसद्को कार्यकाल लम्ब्याउने प्रस्तावकाे विपक्षमा छ : भट्टराई

काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल नलम्ब्याउन सरकारलाई सचेत गराएकाे छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मङ्गलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराउनुभएको हो ।

उहाँले त्यस ढङ्गले प्रतिनिधि सभाभित्र दुई खाले सांसद हुने अवस्था आउने गरी त्याे विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने अडान पनि राख्नुभयो । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको मनोनयन हुने दिन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिने भएकाले त्यही व्यवस्थामात्रै आफ्नो पार्टीलाई मान्य हुने उहाँको भनाइ थियो ।

प्रमुख सचेतक भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भनेकोमा आपत्ति जनाउनुभयो । एमालेले त्यसका लागि सरकारलाई कुनै पनि सहमति नदिएको उहाँको दाबी थियो ।

प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘उम्मेदवारीकाे अघिल्लो दिन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल समाप्त हुनैपर्छ । दुई दिन भए पनि लम्ब्याएर अरू कुनै हर्कत गर्न तपाईँहरूले चाहनुभएको छ भने नेकपा एमाले त्यसको विपक्षमा छ । हामी अनिवार्यरूपमा त्यसलाई रोक्न चाहन्छौँ ।’

प्रमुख सचेतक भट्टराईले सरकारको १४ महिने कार्यकालले आम नागरिकलाई लज्जाबोध गराएको समेत पटक–पटक दोहोर्‍याउनुभयो ।

Back to top button