ओलीकाे आराेप : वर्ष दिनमै गठबन्धनले देशलाई कङ्गाल बनायो

सुनसरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कङ्गाल बनाएको आरोप लगाउनुभएकाे छ । शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अघिल्लो सरकारले ल्याएका आयोजनाहरू कटौती गरेर वर्तमान सरकारले देश बेहाल बनाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मङ्सिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनैपर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले देशलाई बेहाल बनाइसकेको छ । त्यस कारण देशको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले आउँदाे मङ्सिर ४ गतेको चुनावमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयाे । गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराउनुभएको हो । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसङ्ग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसभन्दा अगाडि दुई पटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ । म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु । तपाईँहरू कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यस कारण तपाईँहरुले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्दछ । मैले विश्वास लिएको छु, यस चुनावमा बाकस साट्ने, बुथ कब्जा गर्ने,अशान्ति मच्चाउने लगाएका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले नेकपा एमाले गँड्याैलाेजस्तो नभएको भन्दै दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताउनुभयो । उहाँले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र नागरिकको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिनुभयो । उहाँले मङ्सिर ४ गते हुने चुनावमा देश, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताले हार्न नहुने बताउनुभयो । उहाँले सरकारमा रहेका दल त्यागेर अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको दाबी पनि गर्नुभयाे ।

Back to top button