बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी घोषणा, किन रोजे बर्दिया २ ?

टपारा । टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका रेशम चौधरीले बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा चुनाव लड़ने घोषणा गरेका छन् । बर्दियामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको तर्फबाट उम्मदवारी घोषणा गरेकी हुन्। उनी रेशम पत्नीसमेत हुन् ।

उनले शासक वर्गले टीकापुर घटनाको नाममा थारुमाथि दमन गरिरहेको आरोप लगाइन् । उनले निर्दोष रेशम चौधरीलाई जेलमा कोचेर अन्याय गरेको बताइन्। त्यसैकारण पनि सम्पूर्ण थारुलाई ढकिया चुनाव चिन्हलाई अत्यधिक भोट दिएर आगामी निर्वाचनमा जिताउन अपील गरिन् । उनले नागरिक उन्मुक्ति पार्टी कुनै जात विशेषको नभएर सम्पूर्ण नेपालीको भएको बताइन् ।

उनले चुनावी अभियानका लागि देशव्यापी कार्यक्रम सञ्चलान भइरहेको बताउँदै सम्पूर्ण आदिवासी थारुहरुलाई नागरिक उन्मुक्ति पार्टीमा आबद्ध हुन आह्वान गरिन्। बर्दिया क्षेत्र २ को प्रदेशसभाका लागि मोहन चौधरी उठ्ने बताइएको छ।

उनी जनता समाजवादी पार्टी परित्याग गरेर नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका थिए । त्यस्तै हालै कांग्रेस परित्याग गरेकी थरुहट नेतृ सोमती थारु पनि आकांक्षी छिन्। अध्यक्ष रञ्जिताले भने कैलाली क्षेत्र १ बाट उम्मेदवारी घोषणा गरेकी छन्।रेशमले किन रोजे बर्दिया २ ? बर्दिया थारु बाहुल्य रहेको जिल्ला हो। यहाँ ५० प्रतिशत बढी थारुहरुको बसोबास रहेको छ। बर्दिया क्षेत्र २ मा त झन् ७० प्रतिशत बढी थारुहरु छन् । यो क्षेत्रबाट माओवादीका सन्तकुमार चौधरीले तीनपटक चुनाव जितेर ह्याट्रिक गरेका छन् । पछिल्लो प्रतिनिधिसभा चुनावमा उनले नेपाली कांग्रेसका गोपाल दहितलाई पराजित गरेका थिए। तर यसपटक चुनावी समीकरण फेरिने बताइएको छ ।

सत्ता गठबन्धनले निरन्तरता पाएमा सन्तकुमार चौधरी फेरि प्रबल आकांक्षी बन्ने बताइएको छ। किनकि विजयी भएको क्षेत्र सोही पार्टीलाई दिइने गठबन्धनका नेताहरुबीच मौखिक सहमति नै भएको छ। तर कैलाली ५ बाट पराजित भएका प्रधानमन्त्री पत्नी आरजु देउवाले पनि बर्दिया क्षेत्र २ बाट लड्ने चाहना राखेको बालुवाटार स्रोत बताउँछ। आरजु, सन्तकुमार वा अन्य जुनसुकै नेताले टिकेट पाए पनि रेशम चौधरी उनीहरुका लागि टाउको दुखाइको विषय बन्नसक्छन्।टीकापुरपछि रेशमको आधार क्षेत्र पनि राजापुर र गेरुवा क्षेत्र हुन्। जहाँ ८० प्रतिशत बढी थारुहरुको बसोबास छन् । यसपटकको चुनावमा प्रमुख दलले ‘गैर थारुलाई उम्मेदवार बनाउँदा रेशम चौधरीको जित पनि सुनिश्चित रहेको उनी निकट नेताहरु बताउँछन्। टीकापुरको समीप र थारु बाहुल्यक्ष क्षेत्र भएरे रेशमले उक्त क्षेत्र रोजेको बताइन्छ ।

तर उनी चुनावमा उम्मेदवारी दिन पाउने नपाउने विषय अझै अन्योलमा छ केही कानुनविद्हरुले चुनाव लड्न नपाउने बताइरहेका छन् भने केही कानुनविद्हरुले सर्वोच्च अदालतमा उनको मुद्दा विचाराधीन रहेकाले ‘स्टेअर्डर’ लिएर चुनाव लड्न पाउने बताइरहेका छन्। थारूवान डटकमबाट

Back to top button