किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना प्रभावकारी बन्दै

गेरुवा । गेरुवा गाउँपालिका वडा नं. १ मा रहेको जानकी माध्यमिक विद्यालय जनकनगरका प्रधानाध्यापक दिल बहादुर जि.सी. सँग पहिला किशोरीहरुलाई महिनावारी भएको बेला घर पठाउनु बाहेकको अन्य विकल्प थिएन । महिनावारी भएको बेला किशोरीहरुले सर अफ्ठ्यारो भयो भनेपछि किशोरीहरुलाई घर जाउ भनेको प्रधानाध्यापक जि.सी. स्मरण गर्नुहुन्छ ।

‘महिनावारी आराम कक्षको व्यवस्थापन भएपछि अहिले किशोरीहरुलाई महिनावारी भएको बेला आराम गर्न र पोसाकहरु चेन्ज गर्न सहज भएको छ ।’ प्रधानाध्यापक जि.सी. भन्नुहुन्छ, ‘किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाले महिनावारी आराम कक्षको व्यवस्थापन गरेपछि अहिले किशोरीहरु महिनावारी भएको बेला आराम कक्षमा आराम गर्ने भएपछि विद्यालय छोड्नुपर्ने अवस्था टरेको छ ।’

बर्दियाका ४ पालिकाहरुमा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना शुरु भएपछि यसले सकारात्मक प्रभाव पारेको छ । प्लान इन्टरनेशनल, कोइका र गेरुवा ग्रामिण जागरण संघको साझेदारीमा बर्दियाको गेरुवा गाउँपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकामा सुरु भएको परियोजनाले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको छ ।यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिविरमा महिला प्रजनन प्रणाली बारे जानकारी गराईदै ।

गेरुवा गाउँपालिकामा जानकी माध्यमिक विद्यालयसँगै एक प्रिय राठौर माध्यमिक विद्यालय पाताभार, जनता माध्यमिक विद्यालय गोला, पशुपति माध्यमिक विद्यालय पशुपतिनगर र नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय प्रसेनी गरी ५ वटा विद्यालयमा किशोर किशोरी मैत्री सुचना कक्ष निर्माण भएपछि किशोर किशोरीहरुलाई पम्पलेट, कितावहरु अध्ययन गरेर यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि धेरै कुराहरु थाहा पाउन सहज भएको छ ।

एक प्रिय राठौर माध्यमिक विद्यालय पाताभारका प्रधानाध्यापक प्रकाश शाहीले किशोर किशोरी मैत्री सुचना कक्षको व्यवस्थापन सँगै किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि आवश्यक कुराहरु थाहा पाउन सहज भएको बताउनुहुन्छ । ‘किशोर किशोरी मैत्री सुचना कक्ष भएपछि अहिले विद्यार्थीहरु यस कक्षमा विभिन्न सूचनाहरु प्राप्त गरी रमाउने गरेका छन ।’ प्रधानाध्यापक शाही भन्नुहुन्छ, ‘किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाले आफ्नो विद्यालयमा काम गर्न थालेपछि शिक्षण सिकाई क्रियाकलापमा सहज भएको छ ।’गेरुवा २ भैरमपुरमा अन्तरपुस्ता संवाद कार्यक्रम पछि कैद गरिएको तस्वीर

यो सँगै आधारभूत स्वास्थ्य केन्द्र पाताभार, मनाउ स्वास्थ्य चौकी प्रसेनीपुरमा किशोर किशोरी मैत्री स्वास्थ्य चौकी भएनभएको बुझेर किशोर किशोरी मैत्री नभएका स्वास्थ्य चौकीहरुलाई किशोर किशोरी मैत्री बनाइएको किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना अन्र्तरगत गेरुवाका फिल्ड सुपरभाइजर शान्ती भट्टराईले बताउनुभयो ।

यस कार्यक्रम अन्तरगत विद्यालयमा शौचालय निर्माण देखि हात धुने ठाउँ समेत निर्माण गरिएको बताउँदै फिल्ड सुपरभाइजर शान्ती भट्टराईले बालबिबाह रोकथाम सम्बन्धि नाटक प्रदर्शन, हाजिरजवाफ प्रतियोगिता समेत गरिएको जानकारी दिनुभयो ।गेरुवा ६ बेलभारमा अन्तरपुस्ता संवाद कार्यक्रममा कैद गरिएको तस्वीर ।

फिल्ड सुपरभाइजर भट्टराईले यो सँगै विद्यालयमा प्रयोग योग्य कपडाको सेनेटरी प्याड बनाउने तालिम, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सूचना, शिक्षा, तथा सञ्चार सामग्री उत्पादन र वितरण, आवश्यक प्याड औषधी र किशोर किशोरी लाई दौतरी तालीम, योन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको बताउनुभयो ।

किशोरकिशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि सूचनाको पहुच र आधारभुत सेवामा सुधार ल्याउँदै किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चित गर्न परिवार तथा समुदायको भुमिका सहयोगी बनाउदै बालबिवाह लगाएतका कुरीतिहरु न्युनिकरण गर्ने तथा किशोरकिशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवामा सुधार ल्याउने परियोजनाको मुख्य उद्देश्य रहेको कार्यक्रमका परियोजना संयोजक रामरुप कौशलले बताउनुभयो ।

Back to top button