समाजवादी केन्द्रको न्युक्लियस बन्दै, यस्तो छ कांग्रेसलाई कस्ने हिसाबकिताब

काठमाडौं । चुनावपछि पार्टी एकताको तयारीमा रहेका वाम–समाजवादी दलहरुबीच पार्टी एकता संयोजन समिति बन्ने भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी एकता गर्ने सैद्धान्तिक सहमतिसहित एकता संयोजन समिति गठनको निर्णय गरिसकेका छन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान पनि पार्टी एकता संयोजन समितिमा समावेश हुने भएका छन् । वृहत समाजवादी केन्द्र निर्माणको अभियान चुनावपछि शुरु हुने नेताहरुले बताएका छन् ।शुरुमा तत्कालीन नेकपाभित्रको संघर्षमा केपी ओलीविरुद्ध उभिएका पाँच सचिवालय सदस्यहरुबीच छलफल भएको थियो । त्यसपछि सो समूहमा बाबुराम भट्टराई पनि मिसिए । प्रचण्ड र माधव नेपालले समाजवादी केन्द्रमा उपेन्द्र यादवव नेतृत्वको जसपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल)लाई पनि समेट्न खोजेका थिए ।

यादवले समाजवादी केन्द्रमा जसपा सहभागी नहुने बताइसकेका छन् । नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमा छ तर समाजवादी केन्द्रको छलफलमा भने अहिलेसम्म सहभागी छैन । मोहनविक्रम सिंह सो मोर्चा वा पार्टी एकता संयोजन समितिमा सहभागी हुने सम्भावना नरहेको सो पार्टीका नेता हिमलाल पुरीले बताए ।

बाबुरामबाट प्रचण्ड ढुक्क

प्रचण्डले केही समयअघिसम्म पहिले माओवादी धाराको एकीकरण गर्ने र त्यसपछि वृहत वामपन्थी एकता थाल्ने बताएका थिए । तर तत्काल यो मोर्चामा माओवादी धाराका मोहन वैद्य र नेत्रविक्रम चन्द्र विप्लवहरु सहभागी हुने सम्भावना पनि देखिएको छैन । उनीहरु चुनाव वहिस्कारको तयारीमा छन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सकेसम्म कम्युनिस्ट शब्द नराखेर पार्टी एकता गर्न चाहेको छ । तर प्रचण्डले बाबुरामसँगको पछिल्लो भेटमा ‘नेकपा शब्द हटाएर त्यसको एकल स्वामित्व केपी ओलीलाई किन दिने’ भन्दै नेकपा समाजवादी केन्द्र वा नेकपा समाजवादी त्यस्तै कुनै नाम राख्न सकिने बताएका थिए ।

बाबुराम पनि पछिल्लो चरणमा नेकपा नामप्रति नकारात्मक छैनन् । उनले प्रचण्डसँग अब आफू पार्टी सत्ता र राज्यसत्ताको कार्यकारी पदको प्रतिस्पर्धामा नरहने भनेका छन् । त्यसैले प्रचण्ड बाबुरामसँग एकताका लागि हौसिएका हुन् । आफ्नो चुनौति नहुने अवस्थामा प्रचण्डका लागि बाबुरामजस्तो भरपर्दो साथी अरु हुन नसक्ने स्पष्ट छ ।

न्युक्लियसमा को को ?

नेकपा एकीकृत समाजवादीको बैठकले पार्टी एकता संयोजन समिति गठनको निर्णय गरिसकेको छ । समितिमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई पठाउने समझदारी समेत भइसकेको उपमहासचिव गंगालाल तुलाधरले बताए । यद्यपी माओवादीसँग एकताप्रति नेकपा एसको एउटा ठूलै पंक्ति असहमत छ ।

संयोजन समितिमा माओवादीबाट को को रहने भन्ने टुंगो लागिसकेको छैन । सम्भवतः तत्कालीन नेकपाको सचिवालयका नेताहरु संयोजन समितिमा रहनेछन् । त्यसो हुँदा माओवादीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ,एकता अभियानबाट बामदेव गौतम रहनेछन् । त्यस्तै बाबुरामको पार्टीबाट बाबुराम नै रहने वा महिन्द्र राय यादव रहनेछन् ।

माओवादीबाट एकता संयोजन समितिमा कृष्णवहादुर महरा थपिन सक्ने नेताहरुले बताएका छन् । यो संयोजन समिति तत्कालै गठन गर्न सके गठबन्धनको सिट बाँडफाँटमा कांग्रेससँग बार्गेनिङ पावर पनि बढ्ने र सिट पनि थपिने अपेक्षा प्रचण्डको छ ।

कांग्रेस हाराहारीको हिसाबकिताब

गठबन्धनको अंग भइसकेका कारण बाबुराम र महिन्द्र यादवको सिट सुरक्षित हुनेछ र त्यसमा राजकिशोर यादवलाई पनि ल्याउन खोजिएको छ । माओवादीको चुनाव चिन्हबाट लड्ने भएकाले बाबुराम पक्षले पाउने प्रत्यक्षतर्फको सिटमात्र होइन समानुपातिकमा पनि प्रचण्ड नाफामा हुनेछन् ।

बामदेव गौतमलाई समेत गठबन्धनबाटै एक सिट दिलाउने प्रचण्डको प्रयास छ । त्यो पनि माओवादीलाई नै नाफा हुने हो । १६५ सिटमध्ये माओवादी,नेकपा एस,बाबुराम र बामदेवले समेत सिट पाउँदा कांग्रेसको हाराहारी भाग आउने नेताहरुको हिसाबकिताव छ ।

माओवादीले ४५ देखि ५० सिट,नेकपा एसले २० देखि २५ सिट,बाबुराम र बामदेवको समेत जोड्दा ७०–७५ सिटमा प्रस्तावित समाजवादी केन्द्रका उम्मेदवार हुनेछन् । कांग्रेसले पनि गठबन्धनबाट बढीमा ८०–८५ सिट पाउने हो । सिट बाँडफाँटमै कांग्रेसको हाराहारीमा पुग्ने तयारी प्रचण्डको छ ।

त्यो भनेको चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था आउने र कांग्रेसले समाजवादी केन्द्रबिना सरकार बनाउन नसक्ने ठाउँमा पुर्याउँने हो । त्यसका लागि पनि तत्कालै समाजवादी केन्द्रको भ्रुण अर्थात पार्टी एकता संयोजन समिति गठन हुने बताइएको छ । चुनावपछि गठबन्धनबाट पहिलो चरणको प्रधानमन्त्री बन्न प्रचण्डले सबै शक्ति लगाइरहेका छन् र उनी यो मौका कुनै हालतमा गुम्न नदिन सक्रिय छन् ।प्रचण्डले चुनावपछि दोस्रो पार्टी नहुने हो भने किन गठबन्धन गर्ने भनिरहेका छन् । त्यसको पनि गम्भीर अर्थ छ । आफ्नो साथबाट कांग्रेस पहिलो पार्टी बन्दै गर्दा कांग्रेसको साथबाट आफू दोस्रो पार्टी बन्न पाउनुपर्ने उनको भनाइ छ । आज गठबन्धनमा समेटिएका ७ वटा पार्टीमध्ये प्रचण्डसँग चारवटा छन् । राजमो,जसपा र कांग्रेस एक्ला एक्लै छन् ।

गठबन्धनको बलमा सिट बाँडफाँटमै कांग्रेसको हाराहारीमा आफू नेतृत्वको मोर्चाले पाउँदा प्रत्यक्षबाट समाजवादी केन्द्रको ५० हाराहारी सिट आयो भने चुनावपछि पार्टी एकता गर्दा दोस्रो दल बन्न सकिने आँकलन छ । किनकी गठबन्धनसँग लड्दा प्रत्यक्षमा एमालेले धेरै कम सिट जित्ने र समानुपातिक कांग्रेस बराबर आए पनि प्रत्यक्षका कारण एमालेलाई तल पार्न सकिने प्रचण्डको बुझाइ छ ।

कांग्रेसले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा थप्नुभन्दा अघि नै प्रचण्डले बाबुराम र बामदेवलाई थपेर आफू बलियो पोजिसनमा पुगिसकेका छन् । लोसपा रोक्न उपेन्द्र यादव नै लागेकाले प्रचण्ड मौन छन् । लोसपा थपिए पनि सिट कांग्रेसकै घट्ने भएकाले प्रचण्डलाई लोसपा भित्रिनु र नभित्रिनुमा खासै मतलब छैन ।

Back to top button