नजर पुग्न नसकेको शान्तिबजार चोक जाने मुल बाटोमा बनेको खाडल

२६ साउन शान्तिबजार । गेरुवा गाउँपालिकाको प्रमुख व्यापारीक केन्द्र गेरुवा ३ शान्तिबजार चोक जाने मुल बाटो स्थित झबही कुलोमा बनेको पक्की पुल छेउमै खाडल बनेको छ । बर्षातका कारण खाडल बनेको करिब १ महिना पुग्नै थाल्दा पनि यसमा कसैको नजर पुग्न सकेको छैन । साँघुरो ठाउँमा परेको खाडलले ठुलो दुर्घटना निम्त्याउन सक्ने भन्दै यसको मर्मत सम्हार हुनुपर्ने बजार व्यवसायीहरुको माग रहेको छ ।

ईलाका प्रहरी कार्यालय पाताभार देखि झबही कुलोसम्म बिरेन्द्र अमर निर्माण सेवाले निर्माण गरेको पक्की सडक निर्माण गरेको समय अझै १ बर्ष नपुगेकोले यसको मर्मत सम्हार सोही निर्माण सेवाले गर्नुपर्ने गेरुवा गाउँपालिकाका प्राविधिक प्रमुख टंक रोकायले बताउनुभयो । उहाँले बिरेन्द्र अमर निर्माण सेवालाई यसको मर्मत सम्हारको लागि खबर गरिएको उल्लेख गर्दै यसको दिर्घकालिन समस्या समाधानका लागि नयाँ पुल निर्माण गर्नुपर्ने बताउनुभयो ।

यता गेरुवा गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष जमान कडायतले उक्त ठाउँमा तल ठुलो खाडल भएकोले यसको मर्मत सडक निर्माण कम्पनीले गर्नुपर्ने बताउनुभयो । उहाँले तत्काल यसको मर्मतका लागि गिट्टी नभेटिएकोले खाडल पुर्न नसकिएको बताउँदै खतराको क्षेत्र भनेर संकेत गरिने गेरुवा अपडेटलाई जानकारी दिनुभयो । वडाका साना समस्याहरु समाधान गर्न वडाका जनप्रतिनिधीहरुले चासो दिनुपर्ने स्थानीयको माग रहेको छ ।

Back to top button