बाघको आक्रमणमा परी महिला घाइते

बर्दिया — मधुवन नगरपालिका २ सोनाहा फाँटामा सोमबार बिहान करिब ८ बजेर ४५ मिनेटमा बाघले आक्रमण गर्दा एक महिला गम्भीर घाइते भएकी छन् । खेतमा काम गरी आराम गर्न रुखमुनि बसिरहेको अवस्थामा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए ।

बाघको आक्रमणबाट सोही ठाउँ बस्ने ४१ वर्षीया अस्मिता थारु घाइते भएको प्रहरी निरीक्षक सापकोटाले जनाए । उनको दाहिने हात र तिघ्रा बाघले हिर्काएको पन्जाले गम्भीर चोट लागेको छ ।

बाघले आक्रमण गरेपछि उनीसँग खेतमा गएकाले हो-हल्ला गरेपछि बाघ भागेको प्रहरीले जनाएको छ । थारुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । उक्त घटना सदरमुकाम गुलरियाबाट पश्चिम करिब २५ किमी दूरीमा पर्दछ । घटनास्थल वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग हो । कान्तीपुरबाट

Back to top button