नेशनल माइक्रोफाइनान्सद्वारा समुह अध्यक्ष गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

गेरुवा अपडेट संवाददाता
१९ बैशाख, गेरुवा । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शान्तिबजार, बर्दियाले उत्कृष्ट कार्य सम्पन्न गरेको भन्दै ५ जना सदस्यहरुलाई सम्मान गरेको छ । गेरुवा ३ शान्तिबजारमा समुह अध्यक्ष गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मान पाउनेहरुमा बालकृष्णी थारु, लक्ष्मी सोनाह, कमला बोहरा, सन्तराम थारु र लता धिताल रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथी गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पुनाराम थारुले वित्तिय साक्षरताको बारेमा आम नागरिकले जानकारी पाउनुपर्ने बताउनुभयो । उहाँले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक रुपमा यस्ता कार्यक्रमहरु संचालन गर्नु र सदस्यहरुलाई सम्मान गर्ने परिपाटीले उनीहरुलाई झनै हौसला प्राप्त हुने उल्लेख गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका केन्द्रिय कार्यालयका प्रतिनिधी तथा अनुगमन अधिकृत बालीस्टार यादवले वित्तिय साक्षरताको बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले पैसा कति कमाइन्छ भन्दा पनि बचत कति गरिन्छ भन्ने ठुलो कुरा भएको बताउँदै बचत गर्ने बानी बसाल्न सबैलाई आग्रह गर्नुभयो । व्यवसाय कसरी बढाउने, ऋणको सहि सदुपयोग कसरी गर्ने लगायका विषयमा सहभागिहरुलाई जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शान्तिबजारका प्रमुख सिता कुमारी राना, इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक निराजन बहादुर सुनार लगायतको सहभागिता रहेको थियो । हरीयाली महिला समुहका अध्यक्ष नैना शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शान्तिबजारका कर्मचारी पुष्पराज जोशीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न समुहबाट करिब ५० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

Back to top button