गेरुवा ३ शान्तिबजारमा रहेको एनएमबि लघुवित्तमा चोरी

गेरुवा अपडेट संवाददाता
८ चैत, शान्तिबजार । गेरुवा ३ शान्तिबजारमा रहेको एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेटको कार्यालयमा चोरी भएको छ । सोमबार राती भएको चोरी बिहान करिव ७ बजेतिर वित्तिय संस्थाका कर्मचारीहरुले कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भएको हो ।

कार्यालयको पछाडी पट्टीको ढोका फोडेर कार्यालय भित्रको स्टीलको दराजमा राखिएको ६६ हजार ५ सय रुपैँया चोरी भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।

कार्यालय रहेको घरमा कोही नबस्ने, च्यानल गेट समेत नभएको र काठको जिर्ण ढोका रहेकोले चोरीमा संलग्नहरुले सहजै ढोका फोडेर चोरी गरिएको बताइएको छ । चोरीमा संलग्नहरुले कार्यालयमा रहेका कम्प्यूटर, ल्यापटप लगायतका सामानहरु भने केही नगरी रुपैँया मात्र चोरी गरेका छन ।

इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक सुरेश सुवेदीले चोरीमा संलग्नहरुको खोजीकार्य बिहानैदेखि तिब्र पारिएको जानकारी दिनुभयो । उहाँले बित्तिय संस्थाहरुलाई कार्यालयमा सिसि क्यामेरा जटान गर्न पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदेखाइएकोले यस्ता अप्रिय घटनाहरु घट्ने र समयमै चोरीमा संलग्नहरुलाई पहिचान गर्न समय लाग्न सक्ने बताउनुभयो ।

Back to top button