बेपत्ता धनबहादुर सिंहको हाडखोर फेला

२५ मंसिर, गेरुवा । मंसिर ८ गतेदेखि बेपत्ता भएका गेरुवा ५ पथरैयाका ४२ बर्षिय धनबहादुर सिंहको हाडखोर फेला परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको सि.सि. टि.भि. टावरबाट दक्षिण पश्चिम क्षेत्रको झाडीमा हाडखोर फेला परेको ईप्रका पाताभारका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो । सुस्त मनस्थितिका सिंह मंसिर ८ गते बिहानदेखि घरदेखि हराएका थिए । मंसिर २४ गते शुक्रबार दिउँसो करिब ३ बजेतिर टाउकोको भागको बङ्गारा सहित हड्डी भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले मृतक सिंहले लगाएको कालो ज्याकेट, खैरो मफलर, ट्राउजर, चप्पल लगायत भित्री बस्त्रहरुको आधारमा सिंहको शवको पहिचान गरिएको मृतकका दाजु लाल बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रहरीले टाउकोको भागको बङ्गारा हड्डीबाट १०० मिटर टाढा मफलर भेटिएको, त्यस्तै २०० मिटर टाढा चप्पल भेटिएको जनाएको छ । मृतकका परिवारले सुस्त मनस्थितिका सिंंह आफै जंगलभित्र जान नसक्ने अवस्था भएकोले जनकनगरको पूर्व तर्फ बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी किनाराबाट बाघले लछारेर निकुञ्ज तर्फ लगि खाएको हुन सक्ने आशंका गरेका छन् । प्रहरीले यस बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Back to top button